२०८२ कार्तिक २०, बुधवार , ०९:४८:४० बजे

Sajhamanch
'

अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो विमान दुर्घटना

बुधवार, कार्तिक २०, २०८२

झापा । अमेरिकाको केन्टकी राज्यको लुइसभिल मुहमध अलि अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना भएको छ ।

विमानस्थलबाट उडान भरेको केही मिनेटमै यूपीएस फ्लाईट २९७६ नामक कार्गो विमान दुर्घटनाग्रस्त भएको हो । स्थानीय समय अनुसार हिजो बेलुका सवा ५ बजे विमान दुर्घटनापछि आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको बीबीसीले जनाएको छ ।

नागरिक उड्यन एजेन्सीका अनुसार विमानले लुइसभिलबाट होनोलुलुका लागि उडान भरेको थियो । विमानमा तीन जना चालकदलका सदस्य रहेको खबरमा उल्लेख छ । तर उनीहरूको अवस्था अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

दुर्घटनापछि विमानस्थल वरिपरि ठूलो आगलागी भएको र धुवाँले आकाश ढाकिएको दृश्य स्थानीयबासिन्दाले भिडियोमा खिचेका छन् । जोखिमका कारण विमानस्थलको ५ माइल वरिपरि प्रवेश निषेध गरिएको छ ।

विमानस्थलको सम्पूर्ण एयरफिल्ड अस्थायी रूपमा बन्द गरिएको छ । दुर्घटनाको कारणबारे संयुक्त अनुसन्धान शुरू गरिएको छ । प्रारम्भिक विवरण अनुसार, विमानले उडान भरेको झन्डै एक मिनेटमै समस्या देखिएको थियो ।

दुर्घटनास्थल औद्योगिक क्षेत्र नजिकै रहेको छ । घटनाको थप विवरणका लागि संघीय एजेन्सीहरूले औपचारिक प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

सम्बन्धित खबर