
झापा । चर्चित अमेरिकी कफी चेन कम्पनी स्टारबक्सले चीनमा रहेको आफ्नो व्यवसायको ठूलो हिस्सा बेच्न लागेको छ ।
स्टारबक्सले लगानी फर्म बोयु क्यापिटलसँगको ४ अर्ब अमेरिकी डलरको सम्झौताको एक भागका रूपमा चीनमा आफ्नो व्यवसायको ६० प्रतिशत हिस्सा बेच्ने बताएको बीबीसीले जनाएको छ ।
सम्झौता अन्तर्गत विश्वको सबैभन्दा ठूलो कफी चेन कम्पनी स्टारबक्सले बाँकीको ४० प्रतिशत शेयर आफैँले राख्नेछ । यस्तै ब्रान्ड र बौद्धिक सम्पत्तिको स्वामित्व पनि स्टारबक्ससँगै हुने खबरमा उल्लेख छ ।
स्टारबक्स सन् १९९९ मा चिनियाँ बजारमा प्रवेश गरेको थियो । चीन अहिले अमेरिकाबाहिर स्टारबक्सको दोस्रो ठूलो बजार हो ।
यद्यपि पछिल्ला वर्षहरूमा लकिन कफी जस्ता स्थानीय ब्रान्डहरूको उदयका कारण कम्पनीले चुनौतीहरूको सामना गर्नुपरेको छ ।
स्टारबक्सले आफ्नो मुख्यालय शाङ्घाईमा रहने र चिनियाँ बजारमा आठ हजार आउटलेटहरूको स्वामित्व र सञ्चालनलाई निरन्तरता दिने बताएको छ । साथै भविष्यमा आउटलेटहरूको सङ्ख्या २० हजारमा विस्तार गर्ने कम्पनीको योजना छ ।


