
काठमाडौं । गएको असोज महिनामा गाडी दुर्घटनामा परेर देशभर २४७ जनाको ज्यान गएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा तीन हजार ९४७ वटा गाडी दुर्घटना हुँदा २४७ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १७७ पुरुष, ५८ महिला, नौ बालक र तीन जना बालिका छन् ।
असोज महिनामा गाडी दुर्घटनामा ८४८ जना गम्भीर घाइते भएका छन् । यस्तै चार हजार ३७ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
असोजमा सबैभन्दा धेरै दुई हजार ४६७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ५५५, बस १२५, टेम्पो ३२५ वटा दुर्घटनामा परेका छन् ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका प्रहरीको तथ्याङ्क छ । गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले असोज महिनामा ३३ हजार २२६ जना चालकलाई कारबाही गरेर तीन करोड १३ लाख ७३ हजार रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।


						
						
						