
झापा । चीनको एक मेडिकल टोलीले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभ–जी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ ।
उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीमा रहेको एक अस्पतालमा दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ ।
उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगेर पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए ।
टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागि सात मिनेट भन्दा कम समय लागेको खबरमा उल्लेख छ । शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकोले रोबोटले कुनै कम्पन बिना सजिलैसँग काम गरेको थियो ।


						
						
						