
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० का सरोज शर्मा तिहार र छैठ पर्व मनाउन काठमाडौंबाट घर आएका थिए । छैठपछि उनी कार्यक्षेत्र काठमाडौं फर्कने तयारीमा थिए ।
बजारमा सुनको भाउ आकासिएको कारण घर आएको समयमा उनी सुनको पुरानो गहना सस्तो मूल्यमा किन्ने सोच बनाएर त्यसैको खोजीमा थिए । माइधारमा एउटै टोल छिमेकका साथी सुनील साहलाई उनले सुन चाहिएको कुरा सुनाए । आफूले थोरै किन्ने सोच बनाएको र काठमाडौंमा थप किन्ने मान्छे छन् भनी सुनिललाई सरोजले सुनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले आज पत्रकार सम्मेलन गरी अभियुक्तहरुको वयान सार्वजनिक गरेका हुन् । जसअनुसार सरोज काठमाडौं फर्कनुअघि नै २७ वर्षीय सुनीलले नाताले भान्जा पर्ने छिमेकी २३ वर्षीय राहुल साहसँग मिलेर शर्मासँग भएको पैसा लुट्ने योजना बनाए ।
पूर्वयोजना अनुसार आफूसँग भएको सुन देखाउन भन्दै कात्तिक ९ गते बेलुका शर्मालाई अर्जुनधारा नगरपालिका–४ मा रहेको दहीझोडा सामुदायिक वनमा लिएर गए । सुन राखिएको स्थान भन्दै जंगलमा माटो खोस्रिए पनि, सुन खोज्न खोस्रिरहेकै बेला शर्माको टाउकोमा पछाडिबाट हतौडाले प्रहार गरे ।
‘उनीहरूको योजना हतौडा प्रहारबाट बेहोस बनाएपछि अपहरण गरेर साथमा भएको पैसा लुट्ने र परिवारसँग फिरौती माग्ने देखिन्छ, तर हतौडा प्रहार गरेपछि शर्मा पीडाले चिच्चाए,’ प्रहरी प्रवक्ता डिएसपी खड्काले भने, ‘चिच्चाएपछि अरूले सुन्ने भन्दै आत्तिएर पटक पटक टाउकोमा हतौडा प्रहार गरे ।’
जंगलमा शर्माको हत्या हुँदा झमक्क साँझ परिसकेको थियो । आत्तिएका उनीहरूले शर्माको लासलाई सेउलाले छोपे, गाडीपनि जंगलमै छाडेर सुनीलको गाडीमा फर्किए । राति एक जना भारतीयलाई लिएर फेरि घटनास्थल पुगे ।
‘भारतीयलाई लिएर गएपछि शव मृतककै गाडीमा राखेर हुलाकी राजमार्गको झापा गाउँपालिका खण्डमा पर्ने बिरिङ खोलाको पुल मुनी लगेर गाडेको देखिन्छ’ डिएसपी खड्काले भने, ‘अभियुक्तहरूले एक महिनाअघिदेखि शर्मासँग भएको पैसा लुट्ने योजना बनाएको देखिन्छ ।’
उनका अनुसार बेहोस बनाएर पैसा लुट्ने र अपहरण गरी भारत पुर्याउने योजना देखिन्छ । तर, हत्या गरेपछि शव बिरिङ खोला पुल मुनी गाडेपछि प्रमाण नष्ट गर्न गाडी पनि जलाएका थिए । गाडी जलाउने क्रममा सुनीलको दुई वटै हात पनि आगोले जलेको छ ।
सुनीललाई भारततर्फ भाग्दै गर्दा विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले पक्राउ गरेको हो । राहुललाई भने घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको । शव व्यवस्थापनमा प्रयोग भएका भारतीय नागरिक भने फरार छन् ।
साथीले सुन हेर्न बोलाएपछि शर्मा कात्तिक ९ गते घरबाट ‘कार धुनु छ’ भन्दै बाहिर हिँडेका थिए । उनी सम्पर्कविहीन भएपछि परिवारका सदस्य भोलिपल्ट खोजीका लागि प्रहरी कार्यालय पुगेका थिए ।
अनुसन्धानका क्रममा गत बिहीबार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बरको उनको कार जलेको अवस्थामा भेटिएको थियो ।
गाडी भेटिएको २ दिन पछि शनिबार शव फेला परेको थियो । पक्राउ परेकाहरू माथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
घटनाको मुख्य योजनाकार सुनील मोटरसाइकल चोरी र लागूऔषध मुद्दामा यसअघि पनि पक्राउ परेका थिए । करिब १० वर्षअघि एसएलसी परीक्षा चलिरहेका बेला उनी मोटरसाइकल चोरीको मुद्दामा पक्राउ परेका थिए ।
त्यसयता उनी लागूऔषध मुद्दामा पक्राउ परे । झगडालु प्रवृति भएका कारण टोलका बासिन्दा उनीसँग आजित थिए । घटनापछि आक्रोशित स्थानीयले दुई जना आरोपीको घर शनिबार दिउँसो तोडफोड गरेका छन् ।


