
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७५ अङ्कले बढेर २ हजार ६३१ दशमलव १४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ५ दशमलव १८, जीवन बीमा समूहको शेयर ४ दशमलव ३५ प्रतिशतले उकालो लागेको छ ।
आज सामुदायिक लघुवित्त, गुर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर तेह्रथुम पावर कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
बजार उच्च अङ्कले बढेको दिन खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ४ दशमलव ७६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गएको बिहीवार ७ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३१९ वटा कम्पनीका २ करोड ९७ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।


