
झापा । बेलायतका राजकुमार एन्ड्रयूले आफ्नो ‘राजकुमार’ उपाधि गुमाउने भएका छन् । एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँगको सम्बन्धका बारेमा हप्तौंसम्मको छानबिनपछि उनले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको बीबीसीले जनाएको छ ।
उनी राजा चार्ल्सले किनिदिएको ठानिएको सान्ड्रिङ्घम इस्टेटमा रहेको निजी आवासमा सर्ने खबरमा उल्लेख छ । बकिङ्घम प्यालेसले गएराति एक विज्ञप्ति निकालेर राजा चार्ल्सका भाइलाई अब एन्ड्रयू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ ।
आफ्नो व्यक्तिगत जीवनको बारेमा बढ्दो प्रश्नहरूको बीचमा एन्ड्रयूले यस महिनाको शुरूमा ‘ड्यूक अफ योर्क’ सहित आफ्ना अन्य शाही उपाधिहरू पनि त्यागेका थिए ।
यही महिनाको आरम्भमा प्रकाशित मरणोपरान्त संस्मरणमा भर्जिनिया जूफ्रेले आफूले किशोरावस्थामा राजकुमार एन्ड्रयूसँग तीन पटक यौन सम्बन्ध राखेको दाबी दोहोर्याएकी छिन् । यद्दपि एन्ड्रयूले यो दाबीलाई अस्वीकार गर्दै आएका छन् । जूफ्रेले यसै वर्षको शुरूमा आत्महत्या गरेकी थिइन् ।
एन्ड्रयूले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका भए पनि यस्ता कारबाही आवश्यक भएको राजदरबारले जनाएको छ । राजदरबारले ‘सबै प्रकारका दुव्र्यवहारका’ पीडितमाथि आफ्नो साथ रहने जनाएको छ ।
एन्ड्रयूका दुई छोरी यूजनी र बीट्रिसको राजकुमारी उपाधि भने यथावत् रहने छ । एन्ड्रयू अझै पनि राजसिंहासनको उत्तराधिकारीका लागि आठौं स्थानमा हुनेछन् ।


 
						 
						 
						