२०८२ कार्तिक १५, शुक्रवार , ०४:०३:३६ बजे

Sajhamanch
'

अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

शुक्रवार, कार्तिक १५, २०८२

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिस्तारै कम हुँदै गएको छ ।

हिजो र आज देशका विभिन्न ठाउँमा पानी परेकोमा भोलि शनिवारदेखि मौसममा सुधार आउने सम्भावना छ । तर अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको सल्लाह छ ।

केन्द्रले विशेष प्राविधिक सल्लाह बुलेटिनमार्फत पानी परेका क्षेत्रमा धानखेतमा पानी जमेको भए तत्कालै निकासको व्यवस्था मिलाउन अनुरोध गरेको छ । पाकेको धान भएको धानखेतसहित तरकारीबाली तथा फलफूल बगैँचामा पानी जमेको भए निकास गर्नु महत्त्वपूर्ण रहेको केन्द्रका प्रमुख डा। तुलसीप्रसाद पौडेलले बताउनुभयो । यसका लागि कुलेसो काट्न सकिन्छ ।

धानको पाँजो र बालालाई ओभानो गरी राख्न, नकाटेको धानलाई पानी पर्न रोकिएपछि ३/४ दिनपछि अर्थात् मौसमको अवस्था हेरेर सोमवार/मङ्गलवारदेखि मात्रै काट्न डा. पौडेलको आग्रह छ । अब पानी पर्न कम भए पनि खेतमा पानीको मात्रा धेरै या चिसोपना हुने हुँदा तत्कालै धान काट्ने हतारो नगर्न उहाँको सल्लाह छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन निकाल्ने गरेको छ । कतिपय किसानले यसअघि नै धान भित्र्याइसकेका छन् ।

कतै कतै किसानको धानबालीमा अहिले परेको पानीले क्षति समेत पुर्‍याएको छ । कतिपयले काटेर सुकाएको धान पानीले भिजाएको छ । त्यस्तो धानलाई थप बिग्रन नदिन खेतको पानी बेलैमा कटाउन र पाँजालाई सुरक्षित गर्न विज्ञको सल्लाह छ ।

यो बेला तरकारीबाली, फलफूलमा विषादी छर्कने काम नगर्न, पशुचौपायाको दानालाई पनि ओभान गरी राख्न समेत विज्ञको सुझाव छ । यस्तै अबको हिउँदमा हुने खेतीबालीलाई अहिलेको वर्षा र हिमपातले सकारात्मक प्रभाव पार्ने अपेक्षा छ ।

सम्बन्धित खबर