२०८२ कार्तिक १४, बिहिवार , ०४:२१:४९ बजे

Sajhamanch
'

इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बिहिवार, कार्तिक १४, २०८२

इलाम । इलामको देउमाई नगरपालिका–१ कुखुरेमा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहीबार बिहान करिब साढे १० बजे मेची राजमार्गमा तेह्रथुमबाट झापा तर्फ आउँदै गरेको मे. १ ज. ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ गइरहेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा बोलेरोमा सवार ९ जना र मोटरसाइकल चालक एक जना गरी १० जना घाइते भएका हुन्। उनीहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको प्रहरीले जनाएको छ।

बोलेरो सडकबाट करिब १० मिटर तल झरेको र हालसम्म पनि घटनास्थलमै रहेको प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा गएको टोलीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ का २६ वर्षीय रबिन तामाङ हुन्, जसको गाला र खुट्टामा सामान्य चोट लागेको बताइएको छ।

मोटरसाइकल चालक पाँचथर हिलिहाङ गाउँपालिका–६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली रहेका छन्। उनको दाहिने हातको हत्केलामा चोट लागेको छ।

घाइतेहरूमा झापा, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र पाँचथरका यात्रुहरू रहेका छन्।

घाइतेको नामावली:

१. सुशिला तिमल्सिना (३०, झापा) – भित्री चोट, बोल्न नसक्ने अवस्था

२. छबीलाल गुरुङ (६५, तेह्रथुम) – टाउको र घुँडामा चोट

३. प्रकाश शेर्पा (३०) – निधार र नाकमा चोट

४. डम्मर कुमारी गुरुङ (६४, ताप्लेजुङ) – अनुहारमा चोट

५. इन्द्र गुरुङ (३०) – अनुहारमा चोट

६. अञ्जना गुरुङ (२८) – बाँया हातमा चोट

७. सुष्मा लिम्बू (३२, धनकुटा) – बाँया हातमा चोट

८. असिना तामाङ (२३, पाँचथर) – निधारमा चोट

९. चन्द्रकला कालिकोटे (२७, झापा) – बाहिरी चोट नभएको

प्रहरीका अनुसार मोटरसाइकलका कागजात चालकसँग नभएको र सडकमा हाल आवागमन सहज रहेको छ।

सम्बन्धित खबर