
झापा । चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना स्पष्ट भएको बताएको छ ।
चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोले अहिलेसम्म भएका सफलता अनुसार सन् २०३० भित्रमा चन्द्रमाको सतहमा मानिस अवतरण गराउने लक्ष्य स्पष्ट भएको बताउनुभएको समाचारसंस्था एपीले जनाएको छ । उहाँका अनुसार चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजनाहरू लक्ष्य अनुसार अघि बढेका छन् ।
प्रवक्ता झाङले लङ मार्च–१० रकेट, चन्द्र अवतरण पोसाक र अन्वेषण सवारी निर्माणलाई फलदायी उपलब्धि मान्नुभएको छ । विश्लेषकहरूका अनुसार चीनको सन् २०३० लक्ष्य विश्वका अरू अन्तरिक्ष शक्तिहरू अमेरिका र रूससँगको प्रतिस्पर्धामा निर्णायक कदम हुनेछ । सबै योजना सफल भएमा चीन चन्द्रमामा मानव अवतरण गराउने दोस्रो देशका रूपमा स्थापित हुनेछ ।
यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय पनि गराएको छ । दुईजना मानिस र चारवटा मुसा लिएर आजराति रकेट प्रक्षेपण हुनेछ । मानिसले ६ महिनासम्म अन्तरिक्ष स्टेसनमा अनुसन्धान गर्ने र मुसाको प्रयोगबाट जनावरहरूमा भारहीनता र सीमित वातावरणको प्रभाव अध्ययन हुनेछ ।


