२०८२ कार्तिक १४, बिहिवार , ०२:५८:२४ बजे

Sajhamanch
'

पूर्वी नेपालमा वर्षा : भित्र्याउन लागेको धानबालीमा क्षति, किसान चिन्तित

बिहिवार, कार्तिक १४, २०८२

सुनसरी । पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्।

वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ।

कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा सुनसरी, मोरङ, झापा, उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा, इलाम, पाँचथर लगायतका जिल्लाका किसान प्रभावित भएका छन्। यी जिल्लामा अहिले धान पाक्ने र भित्र्याउने बेला हो।

खोटाङका किसान सोमप्रसाद आचार्यका अनुसार वर्षाका कारण पाकेको धान नष्ट हुन थालेको छ। ‘धान पाकिसकेको थियो, काट्ने तयारीमै वर्षा पर्‍यो, अब खेतमा हिलो र पानीले धान ढल्न थालेको छ,’ उहाँले भन्नुभयो।

वर्षाको असरले धान उत्पादनमा ठूलो कमी आउने अनुमान गरिएको छ। अधिकांश किसानको लगानी, मलखाद र श्रमको प्रतिफल अनिश्चित बन्ने भएपछि किसानहरू चिन्तित भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का किसान दुर्योधन घिमिरेले पनि वर्षाको कारण खेतमा पाकेको धान काट्न नसकेको गुनासो गरे। ‘अगौटे धान काटेर खेतमै सुकाएका थियौं, अहिलेको पछौटे धान काट्ने बेला थियो, तर पानीले सबै काम रोकिएको छ,’ उहाँले भन्नुभयो।

पश्चिमी वायुको प्रभावका कारण पूर्वी क्षेत्रमा वर्षा भइरहेको र अझ केही दिनसम्म मौसम आंशिक बदली रहन सक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । धानबालीमा भएको क्षति र उत्पादन घटे किसानलाई थप आर्थिक संकट निम्तिन सक्ने खतरा सिर्जना भएको छ।

सम्बन्धित खबर