
झापा । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाललगायतका क्षेत्रमा चक्रवात मोन्थाले असर पुर्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । धेरै ठाउँमा रूखहरू उखेलिएका छन् र समुद्र तटहरूमा अग्ला छालहरू उठेका छन् ।
चारै तटीय राज्यका तटीय क्षेत्रबाट ५० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यालय बन्द गरिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ । मोन्था हिजो बेलुका आन्ध्र प्रदेशको मछलीपट्टनम तटमा ठोक्किन शुरू गरेको थियो र यो प्रक्रिया राति एक बजेसम्म रहेको थियो ।
आन्ध्र प्रदेश सरकारले झण्डै ४० लाख मानिस जोखिम क्षेत्रमा रहेका जनाएको छ । जलवायु विज्ञहरूका अनुसार, दक्षिण एशियामा यस्ता गम्भीर आँधीबेहरी पछिल्ला वर्षमा बढी तीव्र र अनियमित हुँदै गइरहेका छन् । सन् २०२३ मा भारतले इतिहासकै सबैभन्दा विनाशकारी चक्रवातको सामना गरेको थियो, जसमा ५ सय २३ जनाको ज्यान गएको थियो ।


