२०८२ कार्तिक १३, बुधवार , १०:१७:५६ बजे

Sajhamanch
'

आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना

बुधवार, कार्तिक १३, २०८२

काठमाडौं । अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका केही ठाउँमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा तथा बाँकी पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम साधरणतया बदली रही तराई भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

गएराति काठमाडौं उपत्यकासहित थोरै ठाउँमा हल्का वर्षा भएको छ । आज राति देशभर आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

त्यस्तै भोलिदेखि शनिवार बिहानसम्म बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असर नेपालमा देखिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सकेसम्म भोलि र पर्सि यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरेको छ । किसानलाई धान तथा अन्यबाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन भनिएको छ ।

सम्बन्धित खबर