
झापा । टर्किएले बेलायतसँग झन्डै ११ अर्ब अमेरिकी डलरमा २० वटा युरोफाइटर टाइफुन जेट किन्ने सम्झौता गरेको छ । टर्किएले आफ्नै पाँचौं पुस्ताको कान लडाकू विमानहरू विकास गर्दै आफ्नो हवाई प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
सम्झौतामा हस्ताक्षर गर्न बेलायती प्रधानमन्त्री केअर स्टार्मर र टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमवार अङ्कारामा भेटघाट गर्नुभएको थियो । बेलायतको रक्षा मन्त्रालयले यो कदमलाई ‘एक पुस्ताको सबैभन्दा ठूलो लडाकु जेट सम्झौता’ भनेर वर्णन गरेको र एर्दोगानले यसलाई ‘दुई नजिकका सहयोगीहरू’ बीचको ‘रणनीतिक सम्बन्धको नयाँ प्रतीक’ भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ ।
टर्किएको राजधानी अङ्कारामा बोल्दै बेलायती प्रधानमन्त्री स्टार्मरले यो सम्झौता नेटोका लागि पनि जीत भएको बताउनुभयो । स्टार्मरका अनुसार सोमवारको सम्झौता अन्तर्गत अर्डर गरिएको पहिलो टाइफुन आउँदो सन् २०३० मा टर्किए आइपुग्ने अपेक्षा छ ।
गएको जुलाईमा टर्किए र बेलायतले ४० टाइफुनको डेलिभरीका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए, यो योजनालाई अन्य युरोफाइटर कन्सोर्टियम सदस्यहरू जर्मनी, इटाली र स्पेनले अनुमोदन गरेका थिए ।
इजरायलजस्ता क्षेत्रीय प्रतिद्वन्द्वीहरूसँगको खाडल कम गर्ने प्रयासको एक भागका रूपमा टर्किएको रक्षा मन्त्रालयले कतार र ओमानबाट थप १२ वटा टाइफुन किन्न चाहेको बताएको छ ।
यस्तै गएको वर्ष टर्किएले ४० वटा एफ–१६ लडाकू विमानका लागि अमेरिकासँग ७ अर्ब डलरको सम्झौता भएको पुष्टि गरेको थियो तर अझै प्राप्त गरिसकेको छैन ।


 
						 
						 
						