२०८२ कार्तिक १२, मङ्गलवार , ०२:१९:२५ बजे

Sajhamanch
'

चीन र दक्षिणपूर्वी एशियाली देशहरुको संगठन आसियानबीच मुक्त व्यापार सम्झौता

मङ्गलवार, कार्तिक १२, २०८२

झापा । चीन र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) ले आफ्नो मुक्त व्यापार सम्झौतामा सुधार गर्दै ‘आसियान–चीन फ्री ट्रेड एरिया’ मा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित ४७औं आसियान शिखर सम्मेलनको अवसरमा सम्पन्न भएको हो । समारोहमा चीनका प्रधानमन्त्री ली चियाङ र मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम सहभागी भएको अलजजिराले उल्लेख गरेको छ ।

सम्झौतामा मलेसियाका व्यापारमन्त्री र आसियान आर्थिक मन्त्रीका अध्यक्ष तेंगकु जाफ्रुल अजीज तथा चीनका वाणिज्यमन्त्री वाङ वेनताओले हस्ताक्षर गर्नुभएको हो ।

चीनको राज्य परिषद्का अनुसार यो सम्झौताले पूर्वाधार, डिजिटल र हरित रूपान्तरण, व्यापार सहजता, र जनस्तरको आदानप्रदानमा सहयोग विस्तार गर्नेछ । यो सम्झौता सन् २०१० मा लागू भएको पहिलो चीन–आसियान मुक्त व्यापार सम्झौताको विस्तारित रूप भएको खबरमा उल्लेख छ ।

अहिले चीन र आसियान एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार बनेका छन् । सम्मेलनमा प्रधानमन्त्री ली चियाङले उच्च गुणस्तरीय आर्थिक सहकार्य र दीर्घकालीन साझेदारीको अपेक्षा व्यक्त गर्नुभयो ।

यसैबीच, प्रधानमन्त्री लीले अमेरिकी राष्ट्रपति ट्रम्पको संरक्षणवादी नीतिको आलोचना गर्दै एकपक्षीयता र संरक्षणवादले विश्व व्यापार प्रणालीलाई गम्भीर रूपमा अव्यवस्थित पारेको बताउनुभयो । राष्ट्रपति ट्रम्प पनि यसै शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो ।

सम्बन्धित खबर