
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सानार्ई ताकाइचीबीच व्यापार तथा दुर्लभ खनिज सम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
ट्रम्पको जापान भ्रमणको क्रममा भएको भेट र सम्झौता ताकाइचीका लागि प्रारम्भिक कूटनीतिक परीक्षा मानिएको बीबीसीले उल्लेख गरेको छ । दुवै नेताले भेटपछि दुई देशबीचको सम्बन्धलाई ‘सुनौलो युगमा प्रवेश गरेको’ घोषणा गरेका छन् ।
सम्झौता अनुसार जापानबाट अमेरिकातर्फ हुने निर्यातमा अब १५ प्रतिशत शुल्क लागू हुनेछ, जुन पहिलेदेखि सहमति भए पनि आज मात्र अन्तिम रूप दिइएको हो ।
भेटका क्रममा ट्रम्पले सन् १९७७ देखि १९८३ बीच उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकका परिवारसँग पनि भेट गर्नुभएको थियो । जापान भ्रमणपछि राष्ट्रपति ट्रम्प दक्षिण कोरियातर्फ प्रस्थान गर्नुहुनेछ, त्यहाँ उहाँको भेट चीनका राष्ट्रपति सी जिनपिङसँग तय गरिएको छ ।


