२०८२ कार्तिक ११, सोमवार , ०१:२१:२३ बजे

Sajhamanch
'

यो सिजनमा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण

सोमवार, कार्तिक ११, २०८२

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङको हिमाल (पिक) आरोहण गर्न शुरूआत भएको छ । फ्रान्सेली दुई नागरिकले गएको असोज महिनाको दोस्रो हप्ता ६ हजार ८ सय ८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए ।

अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड छन् ।

२०१९ सालमा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका बताइएको छ । पछिल्लो वर्षहरुमा त्यहाँका हिमालहरु उत्साहकासाथ आरोहण गर्न थालिएका छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् । केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन् । गएको भदौ महिनाको तेस्रो हप्तादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमण याम रहने शेर्पाले बताउनुभयो ।

पर्यटन विभागका अनुसार गएको वर्षको याममा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए । सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो ।

सम्बन्धित खबर