२०८२ कार्तिक ११, सोमवार , ११:४५:०४ बजे

Sajhamanch
'

अमेरिका र चीनबीच व्यापार सम्झौतामा प्रारम्भिक सहमति

सोमवार, कार्तिक ११, २०८२

झापा । अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य हुने संकेत देखिएको छ । बीबीसीका अनुसार दुवै देशले एक प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन् । जसको अन्तिम रूप राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने आउँदो भेटमा तय गरिनेछ ।

मलेसियामा भएको प्रारम्भिक सम्झौताअनुसार चीनले दुर्लभ पृथ्वी खनिजको निर्यातमा कडाइ गर्ने योजना एक वर्षका लागि स्थगन गर्ने भएको छ, जसले विश्वभरका प्रविधि र विद्युतीय उद्योगलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । यससँगै अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा घोषणा गरेको सय प्रतिशत भन्सार तत्काल लागू नगर्ने संकेत दिएको खबरमा उल्लेख छ ।

कृषि क्षेत्रमा पनि प्रगति भएको छ । चीनले अमेरिकी सोयाबीन खरिद फेरि शुरू गर्ने तयारी गरेको छ । त्यसैगरी, विवादास्पद भिडियो–सेयरिङ्ग प्लेटफर्म टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी विषयमा पनि दुवै पक्षबीच प्रारम्भिक सहमति भएको छ । ट्रम्प र सीको भेटमा यो सम्झौताको अन्तिम घोषणा हुने अपेक्षा गरिएको छ ।

दुवै देशले अहिलेको कदमहरूलाई व्यापार युद्धको तनाव कम गर्ने अवसरका रूपमा लिएका छन् । यद्यपि अन्तिम सम्झौता भने अझै औपचारिक रूपमा सम्पन्न हुन बाँकी छ । एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नुहुनेछ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध अन्त्य गर्नका लागि चिनियाँ राष्ट्रपति सीसँग दक्षिण कोरियामा हुने भेटलाई ट्रम्पले ‘निर्णायक क्षण’ भन्नुभएको छ ।

सम्बन्धित खबर