२०८२ कार्तिक १०, आइतवार , ०३:३४:५६ बजे

Sajhamanch
'

३ महिनामा झन्डै ४ खर्बको व्यापार घाटा, १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रियो

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा देशले झन्डै चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात हुँदा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कुल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको छ ।

पछिल्लो तीन महिनामा छिमेकी देश भारतसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ । यस अवधिमा भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा देशले एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ ।

त्यस्तै चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ छ । चीनबाट एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट चार करोड एक लाखको आयात हुँदा २८ करोड ९९ लाख रुपैयाँको निर्यात भएको हो । यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनान लगायतका देशसँग पनि नेपालको व्यापार नाफा बढी छ ।

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै छ । यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ । यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

सम्बन्धित खबर