२०८२ कार्तिक १०, आइतवार , ०१:५४:०५ बजे

Sajhamanch
'

छठका व्रतालु निर्जल उपवासमा

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू पानी पनि नखाई व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका व्रतालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिनमा आज निर्जल उपवास बसेका हुन् । यस दिन बेलुकी घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको छ ।

नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व शनिवारदेखि शुरू भएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व काठमाडौंलगायत मधेश प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाण्डौलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

यस क्षेत्रका मानिसले पनि कुनै न कुनै रूपमा सूर्यदेवको पूजा, आराधना गर्ने गरेकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्मको विशेष अवधिमा पनि सूर्यदेवको पूजा, आराधना गर्न थालेका हुन् ।

२०४६ सालदेखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । २०६३ सालपछि भने काठमाण्डौको थापाथली, पशुपति क्षेत्रमा रहेको गुह्येश्वरीबाट गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्त्वका साथ यो पर्व मनाउन थालियो ।

रानीपोखरीमा भूकम्पपछिको पुनर्निर्माण सकिएदेखि अहिले छठ मनाइँदैन । यसअघिदेखि नै बाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने चलन शुरू भएको थियो । काठमाण्डौका नागपोखरी, गहनापोखरीलगायत जलाशयमा पनि छठ मनाउने गरिएको छ ।

छठको मुख्य दिन अर्थात् कार्तिक शुक्ल षष्ठीका दिन पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गाइन्छ । डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ । अर्घ्य दिएपछि तीन पटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताउने चलन छ ।

सप्तमीका दिन उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताउनुभयो ।

काठमाण्डौमा गुह्येश्वरीबाट गौरीघाटको बाग्मती किनारमा छठ घाट निर्माण अन्तिम चरणमा पुगेको गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै ठाउँमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवम् छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस वर्ष कात्तिक १० गते सोमवार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने कार्यक्रम रहेको समितिले जनाएको छ । छठ व्रतालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै जाग्राम बस्छन् ।

सम्बन्धित खबर