
काठमाडौं । भोलि बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिन अनुसार आज कोशी र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ । त्यस्तै भोलि छठको मुख्य दिन देशभर मौसम आंशिक बदली रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
भोलि राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रही तराईका क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान छ ।
गण्डकीका पहाडी तथा हिमाली थोरै ठाउँ तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै पर्सि मंगलवार पनि दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रहनेछ । मंगलवार तराईका क्षेत्रमा पनि मौसम आंशिक बदली रहने मौसमविद्को अनुमान छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । मंगलवार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा बदली रही तराई भागमा आंशिक बदली हुने सम्भावना छ ।
गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको तीन दिने मौसमी बुलेटिनमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार मंगलवारपछि पानी पर्ने सम्भावना छ । यो क्रम शुक्रवारसम्म रहनेछ ।
अहिले बंगालको खाडी र अरब सागरमा दुई वटा पानी पार्ने प्रणाली बनिरहेका छन् । त्यसले नेपालमा शुक्रवारसम्म वर्षा गराउने सम्भावना देखिएको उहाँले बताउनुभयो ।
पूर्वी नेपालमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ । अरू क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलको अनुमान छ । यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र पर्सि मंगलवारदेखि पानी पर्न सक्ने सम्भावना रहेको हुँदा ४/५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न पनि किसानलाई सल्लाह छ ।


