२०८२ कार्तिक १०, आइतवार , १०:४०:२० बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानडामाथी थप १० प्रतिशत भन्सार कर लगाउने घोषणा

आइतवार, कार्तिक १०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा १० प्रतिशतले कर बढाउने घोषणा गर्नुभएको छ । उहाँले ओन्टारियो सरकारले प्रसारण गरेको विज्ञापनलाई नक्कली भन्दै कर बढाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

विज्ञापनमा सन् १९८७ मा अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनको करविरोधी भाषणका अंश प्रयोग गरिएको थियो । ट्रम्पले यसप्रति कडा आपत्ती जनाउनुभएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलमा क्यानडाले छलपूर्वक एक नक्कली विज्ञापन प्रयोग गरेको दाबी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले कर नीति अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको समेत उल्लेख गर्नुभएको छ ।

क्यानडाको गैरजिम्मेवार व्यवहारका कारण उनीहरूसँगका सबै व्यापार वार्ताहरू समाप्त गरिएको राष्ट्रपति ट्रम्पको भनाइ छ । क्यानडाको ओन्टारियो सरकारले भुक्तान गरेको भनिएको त्यो विज्ञापन अभियानका लागि करिब सात करोड ५० लाख अमेरिकी डलर खर्च भएको खबरमा उल्लेख छ र ती विज्ञापनहरू प्रमुख अमेरिकी टेलिभिजन सञ्जालहरूमा प्रसारण भइरहेका छन् ।

तर क्यानडाको चेम्बर अफ कमर्सले करले दुवै देशको अर्थतन्त्रलाई हानी पुर्याउने चेतावनी दिएको छ । क्यानडा अमेरिकाको दोस्रो ठूलो व्यापार साझेदार हो, तर अहिले ट्रम्पका इस्पात, एल्युमिनियम र गाडीसम्बन्धी शुल्कले व्यापार सम्बन्धमा तनाव बढाएको छ ।

सम्बन्धित खबर