
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए ।
देउवाले सक्रिय भूमिका छाडेको बताए पनि कांग्रेस बैठकमा उनको कुर्सी यथावत छ । देउवा बस्ने कुर्सी खाली राखेर कार्यवाहक सभापति खड्काले बैठक अगाडि बढाएका छन् ।
कांग्रेसका एक केन्द्रीय सदस्य देउवाको कुर्सी खाली राखेर बैठक सञ्चालन हुनुको राजनीतिक अर्थ रहेको बताउँछन् ।
कांग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा बहस भइरहँदा देउवा भौतिक रुपमा अनुपस्थित भएपनि राजनीतिक रुपमा क्रियाशील छन् भन्ने सन्देश दिन कुर्सी राखिएको हुनसक्ने उनले बताए ।
‘शेरबहादुर दाईप्रति सम्मानको पनि कुरा होला । मुख्य कुरा चैं कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने सन्देश पनि दिन खोजिएको होला’ संस्थापन पक्षका ती केन्द्रीय सदस्यले भने।
कांग्रेस बैठकमा जेनजी आन्दोलन र प्रभाव, १५ औं महाधिवेशन तयारी, संसद विघटन र घोषित निर्वाचन लगायतका ८ बुँदे एजेण्डा उपर छलफल भइरहेको छ ।
यसैबीच, सानेपामा जारी केन्द्रीय समितिको बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्न आवश्यक रहेको बताएका छन् । फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने उनको भनाइ छ।
उनले बैठकमा भनेका छन्, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ । वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ।’
महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ।