२०८२ असोज २८, मङ्गलवार , ०३:१३:१० बजे

Sajhamanch
'

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

मङ्गलवार, असोज २८, २०८२

इलाम । पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९ र २० गते परेको अविरल वर्षाका कारण इलामको राजदुवालीमा पहिरो खस्दा राजमार्ग ११ दिनदेखि ठप्प छ । अन्य सडकका पुलहरु पनि बग्दा वैकल्पिक मार्गहरु समेत सुचारु हुन सकेका छैनन् ।

तर पनि सडक विभाग माइजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थाई डाइभर्सन निर्माणमा जुटेको छ । सोमबार जोगमाई हाइड्रोको केनल पल्टाउन नसकेपछि काम रोकिएको थियो ।

‘आज डाइभर्सनमा त्यो केनल पनि प्रयोग गर्ने गरी ३ ठाउँबाट फुटाउने काम भइसकेको छ । सोमबार काम गर्दा डाइभर्सन निर्माण गर्न अपुग भएको ह्यूमपाइप हिजै पाँचथरबाट सडक डिभिजन कार्यालयमा आइसकेको छ ।’ सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले भन्नुभयो ।

सडक विभागलगायत सबै सरोकारवाला निकाय राजदुवालीसँगै जोगमाई खोलाको पुल बगाएको स्थानमा डाइभर्सन निर्माणको काममा जुटेको उहाँले बताउनु भयो । ‘निर्माणका लागि एक जनालाई जिम्मा दिएका छौँ, हामी पनि लागेका छौँ । सम्भवतः आज साँझसम्ममा तिल्केनी–माइबेनी–सिमलगोलाई खण्ड खुलाउँछौं । त्यहाँबाट सकेसम्म साना ठूला गाडी आवतजावत हुनेगरी डाइभर्सन निर्माण हुनेछ ।’ उहाँले भन्नुभयो ।

सरोकारवाला निकायसँग मिलेर स्थलगत निरीक्षण गरेपछि जिल्ला प्रशासन कार्यालय, इलामले आइतबार राजदुवाली खण्डको विकल्पमा यो खण्ड सुचारु गर्ने निर्णय गरेको थियो ।

इलाम सदरमुकाम तिल्केनीबाट मेची राजमार्ग गोदाक जोड्ने मुख्य विकल्पका रुपमा यस खण्ड सुचारु गर्न लागिएको हो ।
उक्त खण्डको जोगमाई खोलामा गत असारमा निर्माण सम्पन्न गरिएको बेलिब्रिज बाढीले बगाएको थियो । राजदुवाली खण्ड सुचारु गर्न पनि विभागले यतिबेला काम गरिरहेको छ ।

उक्त खण्डमा पानी नियन्त्रण तथा निकासको काम सम्पन्न गरी तल्लो स्लोप सफा गरिसकेको सडक विभागबाट खटिएका भू–प्राविधिक विशेषज्ञ मधुसुदन आचार्यले बताउनु भएको छ । ‘राजदुवाली खण्डमा भने मंगलबारसम्ममा हामीले हामीले मुख्यतया भूमिगत पानी नियन्त्रण गरिसकेका छौँ, तलदेखि माथिसम्म तीन खण्डमा पहिरो खसेकोमा तल्लो खण्डको माटो हटाएर आजबाट दोश्रो स्लोपमा काम गर्छौँ, पानीलाई निकास दिएकाले भासिने क्रम कम हुँदै गएको छ’ आचार्यले भन्नुभयो ।

सम्भवतः पहरो पन्छाइसकेर गिट्टी हालेर रोलर लगाउँदा एक हप्ताभित्र यो खण्ड पनि खुलाउने गरी काम भइरहेको उहाँले बताउनु भयो । ‘जोगमाईमा डाइभर्सन बनिसकेपछि सामान ढुवानीका लागि सहजहुनेछ र यताको काम पनि हप्ता दिनमा पक्कै खुल्ने आशा राख्न सकिन्छ ।’ आचार्यले भन्नुभयो ।

आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल निस्कने खण्डमा पनि क्षतिग्रस्त पक्की पुलको पिल्लर फिलिङ गरेर साना सवारी पास गराइ मेची राजमार्गसम्मको अस्थाइ निकास खुलाइएको छ ।

सम्बन्धित खबर