
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गर्नु भएको थियो। त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी रहेको जानकारी गराउनु भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचन आयोगका आयुक्तहरूसँग यही असोज २१ गते छलफल गर्नु भएको थियो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा.जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित हुनुहुनथ्यो ।
आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच नै छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो । जहाँ अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तसँगको भेटबारे पनि जानकारी गराउनु भएको थियो ।
‘२ दिन अगाडि मैले निर्वाचन आयुक्तलाई बोलाएको थिएँ । कुराकानी, छलफल गरियो । निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्ने भनेको छ । उहाँहरुले आफ्नो कार्यतालिका भित्र राखिसके । अब सरकारसँग समन्वय गरेर, तपाईंसँग समन्वय गरेर अघि बढ्ने भन्नेसम्मको कुरा भएको छ’ अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष राख्नु भएको छ।
आगामी फागुन २० गते कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसकारण माघ दोस्रो साताभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यतामा निर्वाचन आयोग छ ।
अध्यक्ष दाहालका अनुसार राष्ट्रिय सभाको निर्वाचन समयमै गर्ने कुरामा प्रधानमन्त्री कार्की सकारात्मक हुनुहुन्छ । दाहालका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा जेनजीको सहभागिता गराउने विषयमा चासो राख्नु भएको थियो ।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुन्छन् । यो व्यवस्थामा जेनजीले मतदान गर्न पाउने भन्ने छैन । अध्यक्ष दाहालले निर्वाचनको मतदाताबारे राजनीतिक दलहरूसँग छलफल गर्न सकिने सुझाव दिनु भएको छ । ‘चुनाव गराउने कुरामा उहाँ (प्रधानमन्त्री) पोजेटिभ नै हुनुभयो । उहाँले निर्वाचन गर्ने हो’, दाहालले भनेका छन्, ‘जेनजी ल्याउने सन्दर्भका कुरा पनि भए । जेनजीको पनि जल्दोबल्दो कुरा छ ।’
भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका सांसदहरू भएकाले थप छलफल राजनीतिक दलहरूसँग कुरा गर्न सकिने सुझाव दिएको दाहालले बताउनु भयो ।
‘अब राजनीतिक सहमति गर्न सकियो भने हुन्छ भन्नेसम्मको सुझाव मैले दिँए । त्यसका लागि सरकारले राजनीतिक सहमति गर्नुपर्यो दलहरुसँग । किनभने भोटर नै चेन्ज गर्न त सकिँदैन’, दाहालले भन्नुभयो , ‘यो बारेमा पनि अलिकति कुरा भयो ।’
निर्वाचनमा जाने र ठूलो अप्ठ्यारो पनि नरहेको उल्लेख गर्दै उनले असुरक्षाको विषय नरहेको बताउनु भयो । ‘सात वटा प्रदेशमा गर्ने कुरा भएको हुनाले निर्वाचन गर्ने भन्नेकुरा भयो’, अध्यक्ष दाहालले भन्नुभयो ।
आगामी फागुन २० मा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल सकिंदैछ । राष्ट्रपतिबाट मनोनीत सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनीत गर्छन् ।
बाँकी रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाकै अध्यक्ष दाहालसँग छलफल गर्नु भएको हो ।
आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।
आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।
बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।