
इलाम । गएको असोज १८ गतेको वर्षापछि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ ।
जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । सडक अवरुद्ध भएपछि गएको नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका गाडी आवागमनमा समस्या भएको छ ।
यसैबीच, राजदुवाली सडक खण्डको सट्टा वैकल्पिक मार्गको पहिचान गरी साना गाडी सञ्चालनको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । तत्कालका लागि हिजो तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना गाडी सञ्चालनमा ल्याइएको भएपनि आजदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना गाडी सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।
तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम हिजोेदेखि नै शुरू गरिएको छ । ठूला तथा मालवाहक गाडी चलाउनका लागि भने अहिलेसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नेपालको भनाइ छ । तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठूला गाडी सञ्चालनका लागि कठिनाइ भएको उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनःनिर्माणको काम अहिलेका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्काल वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताउनुभयो ।