२०८२ असोज २६, आइतवार , ०७:४७:०२ बजे

Sajhamanch
'

नयाँ संसद् बैठक अब आफ्नै आधुनिक भवनमा

आइतवार, असोज २६, २०८२

काठमाडौं । चुनावबाट आउने नयाँ प्रतिनिधिसभाको बैठक संघीय संसद्को आफ्नै आधुनिक भवनमा बस्ने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन जलेपछि सिंहदरबारस्थित संसद्को नयाँ भवनमा आउने प्रतिनिधिसभाको बैठक राख्ने गरी छलफल अघि बढेको छ ।

सिंहदरबार परिसरमा १७२ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन निर्माण भइरहेको छ । पाँच तलाका अग्ला भवन ठडिइसके पनि समग्र निर्माण प्रगति भने ८७ प्रतिशत वरिपरि मात्रै छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शहरी विकास मन्त्रालयले संसद् भवन निर्माणको सम्बन्धमा छलफल गरिरहेको छ । उहाँ भन्नुहुन्छ, ‘अब नयाँ प्रतिनिधिसभाको बैठक नयाँ भवनमै बस्ने विश्वास छ ।’

२०६४ सालदेखि संघीय संसद्को बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । उक्त भवन जलेपछि शहरी विकास मन्त्रालय अन्तर्गतको विकास समितिसँग भवन प्रयोग गर्ने गरी गरेको भाडा सम्झौता संघीय संसद सचिवालयले रद्द गरेको छ । योसँगै संसद् भवन निर्माणको प्रगतिको विषयमा सम्बन्धित पक्षको ज्यादा ध्यान गएको हो ।

शहरी विकास मन्त्रालयका सहसचिव र प्रवक्ता नारायण प्रसाद मैनालीका अनुसार सिंहदरबारस्थित नयाँ संसद् भवनको निर्माणको सन्दर्भमा ताकेता गर्ने काम भइराखेको छ । उहाँ भन्नुहुन्छ, ‘२१ फागुनको चुनावबाट आउने प्रतिनिधिसभाको बैठक नयाँ भवनमै राख्न सकिन्छ । यस ढंगले आवश्यक काम भइराखेको छ ।’

१६ पुसको डेटलाइन

संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी-सेक जेभीले पाएको छ । ठेकेदारले आगामी १६ पुसभित्र सबै काम सक्नुपर्ने सम्झौता छ ।

गत १२ मा शहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाँचौं पटक म्याद थपको सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार संसद् भवन निर्माणको म्याद ठेकेदारलाई आगामी १६ पुससम्म रहेको हो ।

सुरुको सम्झौताअनुसार काम हुन सकेको भए संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो । २०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

नयाँ संसद् भवनको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । फेरि पनि काम सकिएन ।

१ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्ने गरी दोस्रो पटक म्याद थप भयो । फेरि पनि प्रगति भएन । २० असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्नेगरी तेस्रो पटक म्याद थप भयो । फेरि पनि काम नसकिएपछि चौथो पटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो र पाँचौं पटक गत १२ असारमा ६ महिनाका लागि म्याद थप गरिएको हो ।

पटकपटक म्याद थपेर पनि काम नसकिएको भनेर यसअघि संसद्मै कुरा उठेको थियो । संसद् भवनकै काम समयमा सकिँदैन भने कहाँको सकिन्छ भनेर तत्कालीन सांसदहरूले प्रश्न गरेका थिए । प्रश्न उठेपछि राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत जिम्मेवार व्यक्तिहरू संसद् भवन निर्माणको अवलोकन गर्न पुग्थे ।

अब भने संसद् बैठक बस्नका लागि अर्को भवन छैन । यो अवस्थामा अन्य विकल्प खोज्न नसकिने सरकारी अधिकारीहरू बताउँछन् । यसकारण पछिल्लो पटक थपिएको समयभित्र संसद् भवन निर्माण कुनै हालतमा सक्ने गरी काम गर्न ताकेता गरिएको शहरी विश्वास मन्त्रालयले जनाएको छ ।