
काठमाडौं । गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै ४१३ नयाँ सङ्क्रमित थपिएका छन् ।
अहिलेसम्म डोल्पा र मनाङ बाहेक ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार ५०२ जना छन् ।
बागमतीमा एक हजार ३८० जना, लुम्बिनीमा ९९१ जना, कोशीमा ८०३ जना, सुदूरपश्चिममा ६८४ जना, मधेशमा १२४ जना र कर्णालीमा ३९० जना सङ्क्रमित रहेका छन् ।
जनवरी १ तारिखपछि डेङ्गीका कारण चार जनाको ज्यान गएकोछ । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि सरकारले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन आग्रह गरेको छ ।