२०८२ असोज २३, बिहिवार , ०७:५९:१२ बजे

Sajhamanch
'

जेन–जी आन्दोलनमा क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो

बिहिवार, असोज २३, २०८२

काठमाडौं । जेन–जी आन्दोलनबाट भएको क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम हिजोसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी झन्डै २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।

नेपाल बीमा प्राधिकरणले १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार ९९ वटा बीमा दाबी परेको जनाएको छ । प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीमा परेको कुल दाबी रकममध्ये हिजोसम्ममा अग्रिम भुक्तानीसमेत गरी झन्डै १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

निर्जीवन बीमा कम्पनीले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि २ हजार ७ सय ६ को सङ्ख्यामा सर्भेयर खटाएकोमा अहिलेसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश भएका छन् ।

सरकारले पनि क्षतिको प्रारम्भिक आँकलन गरिसकेको छ । जेन–जी आन्दोलनका क्रममा देशभर झन्डै १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ ।

आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै १ खर्ब रुपैयाँ बराबरको क्षति भएको यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिनुभएको थियो ।

सम्बन्धित खबर