
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गर्नुभएको छ । उहाँले इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने बताउनुभएको छ ।
ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ । तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन ।
इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि बार्ता हुने खबरमा उल्लेख छ ।
अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् । दुई वर्षअघि सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा झन्डै एक हजार २०० को ज्यान थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।
त्यसपछि इजरायले गाजामा आक्रमण तिब्र पारेको हो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार १८३ जनाको ज्यान गएको छ, जसमा २० हजार १७९ बालबालिका पनि छन् ।