
झापा । गाजामा युद्ध शुरू भएदेखि अमेरिकाले इजरायललाई कम्तीमा २१ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता दिएको एक रिपोर्टले देखाएको छ ।
सन् २०२३ को अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवमा आज प्रकाशित रिपोर्ट अनुसार बाइडेन र ट्रम्प प्रशासनको नेतृत्वमा रहेको अमेरिकाले दुई वर्षअघि गाजा युद्ध शुरू भएदेखि इजरायललाई २१ अर्ब डलरभन्दा धेरैको सैन्य सहयोग प्रदान गरेको छ ।
ब्राउन विश्वविद्यालयको वाटसन स्कूल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्सको ‘कस्ट्स अफ वार प्रोजेक्ट’ द्वारा प्रकाशित अर्को अध्ययनले पनि अमेरिकाले विगत दुई वर्षमा मध्यपूर्वमा सुरक्षा सहायता र सञ्चालनमा झन्डै १० अर्ब डलरभन्दा धेरै खर्च गरेको बताएको अङ्ग्रेजी भाषाको दैनिक पत्रिका ‘द इकोनोमिक्स टाइम्स’ ले जनाएको छ ।
सन् २०२३ को अक्टोबरदेखि इजरायललाई प्रदान गरिएको सैन्य सहायताको रकमको बारेमा विदेश विभागले तत्काल कुनै टिप्पणी गरेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न दबाव दिँदै गर्दा सार्वजनिक रूपमा उपलब्ध सूचनाहरूमा आधारित यी प्रतिवेदनहरू सार्वजनिक गरिएका खबरमा उल्लेख छ ।
इजरायलले पनि समर्थन गरेको भनिएको अमेरिकी योजनाका केही तत्त्वहरूलाई हमासले स्वीकार गरेपछि इजरायली र हमासका अधिकारीहरूले यस हप्ता इजिप्टमा अप्रत्यक्ष वार्ता शुरू गरेका छन् ।
इजरायलको तीव्र आलोचना गर्ने ती प्रतिवेदनहरूमा अमेरिकी सहयोगविना इजरायलले गाजामा हमासविरुद्धको आफ्नो संयुक्त अभियानलाई निरन्तरता दिन सक्षम नहुने उल्लेख छ । विभिन्न द्विपक्षीय सम्झौता अन्तर्गत इजरायलका लागि भविष्यमा १०औं अर्ब डलरको कोषको प्रक्षेपण गरिएको कुरा पनि प्रतिवेदनले भनेको छ ।