२०८२ असोज २१, मङ्गलवार , ११:१६:५३ बजे

Sajhamanch
'

कोशी र बागमती प्रदेशका केही सडकखण्ड अझै अवरुद्ध

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका नौ ठाउँमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कान्ति लोकपथ अन्तर्गत ललितपुरको गोदावरीमा सडक पूर्ण रुपमा अवरुद्ध छ ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला र मकालु, मेची राजमार्ग अन्तर्गत इलाम र मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको टेम्केमैयुङमा सडक अवरुद्ध छ ।

पासाङल्हामु सडकखण्ड अन्तर्गत रसुवाको गोसाईंकुण्डमा बन्द भएको सडक पनि खुलेको छैन । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशीमा पनि सडक अवरुद्ध छ ।

काभ्रेको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन शुरू गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि हिजोदेखि डाइभर्सन बनाउन शुरू गरिएको हो ।

सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न ठाउँमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा राजमार्ग अवरुद्ध भएको छ । अहिले वैकल्पिक मार्गका रुपमा गाडी खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाण्डौ आवतजावत भइरहेका छन् ।

सम्बन्धित खबर