
विराटनगर । पाँचथरको कुम्मायक कार्तिकेस्थित तमोर करिडोरमा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
पाँचथरबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले दुर्घटनामा ५ जनाको मृत्यु भएको बताए । उनका अनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खस्दा थप ६जना घाइते भएका छन् ।
घाइते मध्य ५ जनालाई उपचारका लागि धरान झारिँदै छ । एक जनालाई फिदिम अस्पताल लगिएको डीआईजी कार्कीले बताए । मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन।
दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धान अनुसार सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको अनुमान गरिएको छ।
घाइते ६ जनाको अवस्था विवरण यस प्रकार छ :
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत घाइतेहरू-
१. ताप्लेजुङ मेरिङ्देन गाउँपालिका–५ का २२ वर्षीय महेश लिम्बु — निधार र टाउकोमा चोट, अवस्था मध्यम।
२. मिक्लाखोला गाउँपालिका–४ की २५ वर्षीया मनु सावा लिम्बु — निधार, अनुहार र छातीमा चोट, अवस्था गम्भीर।
३. कालीखोला निवासी ७ वर्षीय अनिश लिम्बु — खुट्टामा चोट, अवस्था सामान्य।
४. सुनसरी इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाईं — ढाडमा चोट, अवस्था मध्यम।
५. मेरिङ्देन गाउँपालिका–५ का २५ वर्षीय बिमल लिम्बु — टाउको र अनुहारमा चोट, अवस्था गम्भीर।
त्यसैगरी, जिल्ला अस्पताल पाँचथरमा उपचाररत ताप्लेजुङ मिक्लाखोला गाउँपालिका–४ का ३० वर्षीय संजोहाङ लिम्बु को टाउकोको पछाडि, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि झापा रेफर गरिएको छ।
दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।