
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले आफ्नो पूरै भूमि मूल स्वरूपमा हासिल गर्न सक्ने बताउनुभएको छ । यो भनाइले रुस–युक्रेन युद्धबारे उहाँको अडानमा महत्त्वपूर्ण परिवर्तन आएको सङ्केत गर्ने बीबीसीले जनाएको छ ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा ट्रम्पले युरोप र नेटोको सहयोगमा, रुसी अर्थतन्त्रमा परेको दबावका कारण युक्रेनले युद्ध शुरू हुँदाको बेलाको सीमाको स्वरूपमा फिर्ता पाउन सक्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनररुसको सैन्य र आर्थिक अवस्था थाहा भएपछि र पूर्णरूपमा बुझेपछि आफ्नो सोच परिवर्तन भएको बताउनुभएको छ ।
ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भन्दै पुटिन र रुस ठूलो आर्थिक समस्यामा रहेको र युक्रेनले कारबाही गर्ने समय आएको उल्लेख गर्नुभयो ।
मङ्गलवार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी भएसँगै ट्रम्पको यो टिप्पणी आएको हो ।
ट्रम्पले बारम्बार रुस–युक्रेन युद्ध समाप्त गर्ने इच्छा व्यक्त गर्दै आउनुभएको छ । यद्यपि यसअघि उहाँले यस प्रक्रियामा युक्रेनले केही क्षेत्र छाड्नुपर्ने सम्भावना हुने बताउनुभएको थियो र जेलेन्स्कीले त्यसमा लगातार विमति राख्दै आउनुभएको थियो ।