
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेको छ ।
तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डीएपी मल छन् । मल स्थानीय सहकारी र कृषि संस्थामार्फत वितरण गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पालिकाले तोकेका सहकारी र कृषि संस्थाहरूले लगेको मल किसानलाई बिक्री गर्दै आएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा धानखेतीका लागि एक हजार ३०५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डीएपी मल बिक्री वितरण गरिएको उहाँले बताउनु भयो। सोही अवधिमा चिया खेतीका लागि ५० मेट्रिक टन युरिया मल वितरण गरेको कार्यालयले जनाएको छ ।
उहाँले धान खेतीका लागि पालिकाहरूले १४० सहकारी र कृषि संस्थालाई मल वितरणका लागि अधिकृत बिक्रेता सिफारिस गर्नु भएको थियो । पहिलो चरणमा धान खेतीका लागि प्राप्त डीएपी मलमध्ये हाल कार्यालयमा २२८ मेट्रिक टन मल मौज्दात छ ।
चियाका लागि आएको मलमध्ये ६०० मेट्रिक टन युरिया र ४०० मेट्रिक टन डीएपी मल भने कार्यालयमा मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । चिया तथा कफी विकास बोर्डमा दर्ता भएका चिया उत्पादक कम्पनी तथा संस्थालाई रासायनिक मल उपलब्ध गराउने प्रावधान रहेको उहाँको भनाइ छ ।