
विराटनगर । पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिण पश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ ।
राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारसँगको प्रत्यक्ष पहुँच बढ्दा त्यस क्षेत्रको आर्थिक परिचालनमा ठुलो परिवर्तन आएको मोरङ क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताउनुभयो ।
हुलाकी राजमार्ग निर्माणले प्रदेश राजधानीसमेत रहेको व्यापारिक केन्द्र विराटनगरसँगको प्रत्यक्ष पहुँच जोडिएको छ । पहिले डाइनिया, झुर्किया, आमबारी, सिजुवा, सौँठा, बरडङ्गा, कल्याणपुर, इटहरालगायत दक्षिणपूर्वी मोरङका बासिन्दालाई कुनै कामले विराटनगर जानु पर्दा तीन घण्टाभन्दा बढी समय लाग्दथ्यो ।
कुनै व्यावसायिक वा प्रशासनिक कामले विराटनगर गएको मानिस बेलुका उतै बास बसेर भोलिपल्ट मात्र घर फर्किन्थे । हुलाकी सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमै विराटनगर पुग्न थालेको रतुवामाई नगरपालिका–८ का पूर्ववडाध्यक्ष गोपी चापागाईं बताउनुहुन्छ ।
विराटनगरसँगको आवागमन सहज भएपछि स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा स्थानीयको पहुँच बढ्नुका साथै कम मूल्यमै व्यावसायिक तथा दैनिक उपभोग्य सामग्री स्थानीय बजारसम्म आइपुग्न थालेको चापागाईले बताउनुभयो ।
अहिले विराटनगरका अधिकांश राम्रा कलेजका सवारीसाधन बिहान उज्यालो नहुँदै विद्यार्थी लिन दक्षिणपूर्वी मोरङको महादेवासम्म पुग्न थालेका छन् । त्यस्तै उर्लाबारीदेखिका स्कुल बस पनि झुर्किया र आमबारीसम्म पुग्छन् ।
जसले गर्दा त्यस क्षेत्रका अभिभावकले घरमै खाना खुवाएर आफ्ना छोराछोरीलाई विराटनगरका राम्रा कलेज र विद्यालयमा पढाउन सक्ने अवस्था सिर्जना भएको पूर्ववडाध्यक्ष चापागाईं बताउनुहुन्छ ।
राजमार्गले छुने साना चोक बिस्तारै बजारमा परिणत हुन थालेका छन् । स्थानीय कृषिजन्य वस्तुको बिक्रीवितरण र दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीयलाई सहज भएको रतुवामाई–४, आमबारीका होटेल व्यवसायी महमदलाल ताजपुरियाको भनाइ छ । “पहिला कुनै सामग्री खरिद गर्न साप्ताहिक हटिया पर्खिनुपर्दथ्यो । अब नुनदेखि सुनसम्म सबै आमबारी बजारमै पाइन थालेको छ,” होटेल व्यवसायी ताजपुरिया भन्नुहुन्छ ।
हुलाकी राजमार्गको निर्माणसँगै मोरङ र झापाको सीमानदी रतुवाखोलामा पक्कीपुल निर्माण भएर सञ्चालनमा आएपछि पश्चिम दक्षिण झापाका स्थानीयको जनजीवनसमेत सहज बन्दै गएको छ ।
अहिले दक्षिण पश्चिम झापाको गौरीगन्ज, केराबारी, महाभारा, भुटाबारी, बेलडाँगी, कदमगाछी, फत्तेपुर, गौरादह, महारानीझोडालगायतका स्थानीयको विराटनगरसँग सहज पहुँच जोडिन पुगेको छ ।
बिरामी हुँदा स्वास्थ्य उपचार गर्न, व्यावसायिक कारोबारदेखि हवाईसेवाका लागि समेत विराटनगर जान सजिलो भएको गौरीगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष रूपक श्रेष्ठले बताउनुभयो ।
गौरीगञ्ज बजारबाट ५० किलोमिटरको दुरीमा विराटनगर पुग्न सकिने भएको छ । सडकको दुरी घटेसँगै समयको बचत र भाडासमेत कम पर्ने भएकाले अहिले धेरै सहज भएको श्रेष्ठको भनाइ छ ।