२०८२ असोज ७, मङ्गलवार , १०:१४:१२ बजे

Sajhamanch
'

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । असोज शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ ।

नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । हिजो घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन आज पूजा कोठामा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या पाउने धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । हिजोदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष शुरू भइसकेको छ ।

सम्बन्धित खबर