
काठमाडौं । यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि रुट परमिट अर्थात् अनुमति खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइकन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी गाडीलाई भने बन्देज कायमै राखिने भएको छ । रुट परमिट खुला आउँदो असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताउनुभयो ।
सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला गाडी आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।