
झापा । भ्रष्टाचार र नयाँ पेन्सन कानूनविरुद्ध पेरुमा आन्दोलन चर्किएको छ । आन्दोलन चर्किँदै जाँदा राजधानी लिमा शहरमा हिजो सरकारविरोधी प्रदर्शनमा सहभागी सयौं प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको समाचार संस्था एएफपीले जनाएको छ । प्रदर्शनकारीहरूले ढुङ्गा र लठ्ठी प्रहार गर्दा प्रहरीले अश्रुग्यास प्रयोग गरेर भीड नियन्त्रणमा लिएको थियो ।
‘जेनेरेसन जेड’ नामक युवाहरूको समूहले आयोजना गरेको यो प्रदर्शन अहिले देशमा फैलिँदो सङ्गठित अपराध, सार्वजनिक पदमा देखिएको भ्रष्टाचार र भर्खरै पारित गरिएको पेन्सन सुधारसम्बन्धी कानूनको विरोधमा भइरहेको खबरमा उल्लेख छ ।
स्थानीय रेडियो एक्सितोसाका अनुसार झडपका क्रममा संस्थाका पत्रकार र क्यामेराम्यान पनि सुरक्षाकर्मीको छर्राबाट घाइते भएका छन् । प्रहरी प्रशासनका अनुसार कम्तीमा तीन जना प्रहरी जवान पनि घाइते भएका छन् ।
अहिले राष्ट्रपति पदमा रहेकी डिना बोलुआर्टेको लोकप्रियता घट्दो क्रममा छ । देशमा जबरजस्ती असुली र अपराधका घटना बढ्दो रहँदा नागरिकमा सरकारप्रति असन्तुष्टि बढेको देखिएको छ । सर्वेक्षणहरूमा सरकार र संसद्प्रति नागरिकको विश्वास कमजोर हुँदै गएको देखिएको छ ।
यसै हप्ता संसद्ले पारित गरेको नयाँ कानून अनुसार युवा वर्गलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा आबद्ध गराइने व्यवस्था गरिएको छ । तर अस्थिर रोजगारीको वातावरणमा यस्तो व्यवस्था अन्यायपूर्ण भएको भन्दै आलोचना भइरहेको छ ।