
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ७० अङ्कले बढेर २ हजार ६२३ दशमलव ६२ विन्दुमा पुगेको छ ।
अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अङ्कले उकालो लागेको हो । यसअघि जेनजी आन्दोलनका कारण गएको बिहीवार असोज २ गते शेयर बजार खुल्दा १६० अङ्कले घटेको थियो ।
आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज १६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गएको बिहीवार ७२ करोड ८७ लाखको कारोबार भएकोमा आज ३२९ वटा कम्पनीका २ करोड ३२ हजार कित्ता शेयर ९ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।