
काठमाडौं । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिले पाँच वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । बीचमा कुनै अवरोध नआएमा ११ बजेसम्म सडक सञ्चालन हुने उहाँको भनाइ छ ।
मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन समस्या भएको हो ।
सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय भरतपुरले यात्रुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ ।
कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।