
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री कियर स्टार्मरबीच बहुपक्षीय छलफल सम्पन्न भएको छ । ट्रम्पको तीन दिने औपचारिक बेलायत भ्रमणको अन्तिम दिन हिजो आयोजित पत्रकार सम्मेलनमा दुई विश्व शक्ति राष्ट्रका नेताहरूले साझा सुरक्षा, व्यापार, युद्ध र विश्व नीति सम्बन्धी विभिन्न मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेका अल जजिराले जनाएको छ ।
जसमा रूस युक्रेन युद्ध प्रमुख छ । राष्ट्रपति ट्रम्पले युक्रेन–रूस युद्ध समाधान सहज हुने अपेक्षा गरे पनि रूसी राष्ट्रपति पुटिनले आफूलाई निराश पारेको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री स्टार्मरले भने बेलायत युक्रेनलाई सैन्य र कूटनीतिक समर्थन पुर्याइरहेको बताउँदै युद्ध अन्त्यका लागि दबाब बढाइने घोषणा गर्नुभयो ।
त्यसैगरी गाजा सङ्कट, नेटो गठबन्धन, अफगानिस्तानमा फेरी अमेरिकी नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताका बारेमा दुईनेताबीच गहन छलफल भएको खबरमा उल्लेख छ । मतभेदका बीच पनि दुई नेताले साझा मुद्दामा सहकार्य गर्ने संकेत देखाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको यो भ्रमणले केही नयाँ विषय शुरूवात भएको विश्लेषकहरूको भनाइ छ ।