२०८२ असोज २, बिहिवार , ०८:०५:११ बजे

Sajhamanch
'

कोशी मन्त्रिपरिषद् बैठकको ताजा निर्णयहरु

बिहिवार, असोज २, २०८२

विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले पाँच लाखभन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

जेन्जी आन्दोलनपछि आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो।

कटौती भएको बजेटबाट जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरुको पुननिर्माण गरिनेछ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बैठकले आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने व्यक्तिका परिवारलाई काजकिरिया लागि प्रतिपरिवार १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

यो सहयोग कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा मृत्यु भएकाहरुले मात्रै पाउनेछन्। जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको थियो ।

बैठकले कोशी प्रदेशमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरुका लागि प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने पनि निर्णय गरेको मन्त्री भण्डारीले बताउनु भयो ।

मन्त्रिपरिषद् बैठकबाट आन्दोलनका क्रममा भौतिक पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको छ । मन्त्रालयलाई प्रतिवेदन पेश गर्नका लागि कात्तिक ९ गतेसम्मको समय दिएको छ ।

आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालय परिसरमा रहेको छुट्टै भवनको कार्यकक्षमा मन्त्रीपरिषद् बैठक बसेको थियो । बैठकको निर्णय मन्त्री भण्डारीले आगजनीले डढेको कार्यालय परिसरबाट सार्वजनिक गर्नुभएको हो ।

सम्बन्धित खबर