
काठमाडौं । सभामुख देवराज घिमिरेले जेन जी आन्दोलनसँगै घटेका घटनाहरूको राम्रोसँग अध्ययन गरी अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
क्षतिग्रस्त संसद भवनको अवलोकनका क्रममा उहाँले अहिले देशले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै उहाँले यो दुःखद घडीबाट उठेर ठिक ढंगले अगाडि बढ्नु नै सबैको दायित्व भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘खोजेको के हो सबै कुराहरू अलि राम्रो गरी अध्ययन गर्नुपर्छ बुझ्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौँ । त्यो ज्यादै दुःखद कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानु सबैको दायित्व छ । त्यसरी अगाडि जानलाई सबै लागौँ यो बेलामा ।’
यस्ता दुर्घटना निम्त्याउनुभन्दा अन्य माध्यमबाट पनि समस्या समाधान गर्न सकिने अवस्था रहेको घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, ‘यी सबै दुर्घटनाहरू नहुनुपर्ने थियो । समस्याहरूलाई यो भन्दा अलि राम्रोसँग पाटाहरू खोज्नुपर्ने थियो । यो दुःखद घटना हो ।’
अहिलेको गम्भीर परिस्थितिमा सबै नेपाली जनता मिलेर राज्यलाई माथि उठाउनुपर्ने पनि उहाँले बताउनु भयो । प्रतिनिधिसभा विघटन नगरी त्यही भित्रबाट समाधान खोज्न सकेको भए राम्रो हुने उहाँको भनाइ छ ।
अहिलेको अन्तरिम सरकारको ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले सबै समाधान गरेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै घिमिरेले भन्नुभयो, ‘अहिले गम्भीर परिस्थिति सृजना भएको छ । यसलाई उठाउन हामी सबै लाग्नुपर्छ ।’