
काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बन्नुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलन पछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा पनि उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको यट्खामा जन्मनुभएका उहाँ २००७ सालमा पहिलो पटक मन्त्री हुँदासम्म किलागलको घरमा बस्नुभएको थियो ।
२००८ सालमा मात्रै चाक्सीबारीको घरमा बस्न जानुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते त्यहीँ भएको हो । देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो ।
२०१५ सालमा पहिलो चुनाव भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो ।
नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् ।