
झापा । गाजा युद्धकाबीच इजरायल अन्तर्राष्ट्रिय रुपमा एक्लिँदै गएको छ । बेल्जियम, स्पेन, फ्रान्स, क्यानाडा, अष्ट्रेलिया लगायत देशहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने तयारी गरिरहेका छन् ।
बेल्जियमले वेस्ट बैंकका यहूदी बस्तिहरूबाट आयातमा प्रतिबन्ध, चरमपन्थी मन्त्रीहरूलाई अवाञ्छित घोषणा, र बस्तिमा बस्ने आफ्ना नागरिकहरूलाई कन्सुलर सेवा नदिने निर्णय गरिसकेको बीबीसीले जनाएको छ ।
स्पेनले पनि इजरायली जहाज र विमानलाई आफ्नो बन्दरगाह र हवाई क्षेत्र प्रयोग गर्न नदिने, युद्धमा संलग्न व्यक्तिहरूलाई देश प्रवेशमा रोक लगाउने जस्ता कडा कदम चालेको छ ।
नर्वेको २ ट्रिलियन डलरको सॉवरेन फन्डले इजरायली कम्पनीहरूबाट लगानी फिर्ता लिन थालेको छ भने युरोपेली युनियनले पनि व्यापारिक सम्झौता निलम्बन गर्ने चेतावनी दिएको छ ।
युरोभिजन प्रतियोगिता, चलचित्र, खेलकुद लगायत साँस्कृतिक क्षेत्रबाट पनि इजरायलको बहिष्कार शुरू भएको खबरमा उल्लेख छ । जसमा एमा स्टोनजस्ता चर्चित कलाकारहरूको समर्थन रहेको खुलेको छ ।
पूर्व कूटनीतिज्ञहरूले इजरायलको अन्तर्राष्ट्रिय अवस्था अहिले सम्मकै कमजोर भएको बताएका छन् । यद्यपि अमेरिकाले अझै पनि इजरायललाई पूर्ण समर्थन गरिरहेको छ । तर विश्लेषकहरूले इजरायलले अहिलेको नीतिमा परिवर्तन नगरे अन्तर्राष्ट्रिय समुदायबाट पूर्णरुपमा बहिष्कार हुन सक्ने चेतावनी दिएका छन् ।