
झापा । चीनको गाडी उद्योग समूहले घरेलु र विदेशी गाडी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ ।
हिजो सार्वजनिक गरिएको विज्ञप्तिमा चीन गाडी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुला, न्यायसङ्गत र भेदभावरहित बजार आवश्यक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सङ्घले विद्युतीकरण र बुद्धिमत्ता आधारित गाडीको विकासमा सहकार्य गर्न जोड दिँदै, हरित, सुरक्षित र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, उद्योग समूहले सम्बन्धित निकायहरूद्वारा गरिने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यो कदम चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट आयात हुने केही एनालग चिपहरूको मूल्य अनुसन्धान शुरू गरेपछि आएको हो । मन्त्रालयले चीनको चिप उद्योगमाथि अमेरिकी कदमहरू विरुद्ध भेदभाव विरोधी अनुसन्धान पनि शुरू गरेको जनाएको छ ।