
काठमाडौं । ‘जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् ।
देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३२० कैदीबन्दी फरार रहेकामा आज दिउँसोसम्म ३ हजार ७२३ जना कैदीबन्दी पक्राउ गरी कारागारमा पुर्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । अझै धेरै कैदीबन्दी जेल बाहिर रहेकोले सर्तकता अपनाउनुपर्ने उहाँको भनाइ छ ।
प्रवक्ता घिमिरेका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार पुगेका छन् ।
भागेका कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।
यस्तै प्रदर्शनका कारण प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवा पक्राउ परेका छन् । प्रहरीका अनुसार अझै २ हजार १०० थुनुवा फरार छन् ।