
झापा । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’ को स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले अमेरिकी सेमीकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुई वटा अनुसन्धान शुरू गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आईसी चिप्समाथि एन्टी–डम्पिङ अनुसन्धान शुरू भएको घोषणा गरेको समाचार संस्था एपीले जनाएको छ । मन्त्रालयले यससँगै चीनको चिप उद्योगविरुद्ध अमेरिकी कदमहरू भेदभावपूर्ण भएको भन्दै छुट्टै भेदभाव विरोधी जाँच पनि घोषणा गरेको छ ।
चीनको दाबीअनुसार अमेरिकी निर्यात प्रतिबन्ध र करले ‘उन्नत कम्प्युटर चिप्स र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उच्च–प्रविधि उद्योगहरूको विकासलाई नियन्त्रण र दमन गर्ने रणनीति’ प्रदर्शन गर्छन् ।
यो घोषणा अमेरिकाले २३ चिनियाँ कम्पनीलाई ‘एकाइ सूची’ मा थपेको भोलिपल्ट आएको हो । सूचीमा परेका कम्पनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति हितविरुद्ध काम गरेको आरोपमा प्रतिबन्धको सामना गर्नुपर्नेछ ।
मड्रिडमा हुने बैठक व्यापार तनाव न्यूनीकरण गर्ने, उच्च कर स्थगित गर्ने र पारस्परिक समझदारी बढाउने प्रयासका रूपमा आयोजित वार्ताको अर्को चरण हुने खबरमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमीकन्डक्टरमा पहुँच नदिने नीति अनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाउनुभएको थियो ।
अमेरिकाले यो कदमलाई राष्ट्रिय सुरक्षासँग जोडेको छ । यद्दपि चीनले यी प्रतिबन्धहरू आफ्नो प्रविधिक वृद्धि रोक्न अमेरिकाले अपनाएको रणनीतिको हिस्सा भएको बताएको छ ।