
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो ।
नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न सरकारी उच्च कर्मचारीलाई बिहानै बोलाइएको छ । प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ । प्रधानमन्त्री कार्की अस्ति शुक्रवार बेलुकादेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बस्न थालिसक्नुभएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगजनी हुँदा नजलेका र जोगिएका सरसामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ ।
पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले आजसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । त्यसका लागि पनि आन्तरिक छलफल र भेटघाट चलिरहेको छ ।
यो प्रकृयामा सघाउन जेन–जी ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइसकेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।